नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।

नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए । तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् ।

प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरुबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्ने गर्छ ।

यसपटक पनि तिनै जना आकांक्षीले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए । यद्यपि, सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आईजीपी बनाएको छ ।

भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए