थाई गुम्बाको पर्खाल भत्कियो, ६ बालिकाको उद्धार

काठमाडौं । दक्षिणकाली नगरपालिका–५ मा रहेको थाई गुम्बाको पर्खाल भत्किएको छ ।

पर्खाल भत्किएर पुरिएका ६ बालिकाहरुको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए ।

दिउँसो ३ बजेर ५० मिनेटमा पर्खाल भत्किंदा ६ जना बालिकाहरु पुरिएका थिए । तत्कालै इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्धार गरेको थियो ।

उद्धार गरिएका मध्ये ५ जनालाई बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ भने एक जनालाई दक्षिणकालीकै मनमोहन अस्पतालमा उपचारका लागि पठाइएको छ ।