
काठमाडौं, १८ फागुन । हरेक दिनजसो सार्वजनिक हुने आधा दर्शन बढी गीतमा अधिकांश गीत श्रोता–दर्शकको नजरमै पर्दैनन् । केही सीमित गीतले मात्र श्रोता–दर्शकको माया पाउँछन् । पछिल्लो समय स्रोता एवं दर्शकको माया पाउनेमध्येमा पर्छ, ‘मनैमा शीतलो’ ।
युट्युबमा सार्वजनिक भएको तीन साता नबित्दै गीतको भिडियोले ४० लाख बढी भ्युज पाइसकेको छ । त्यस्तै गीतका टुक्कामा झण्डै ७ लाख बढी टिकटक बनिसकेको छ । यस गीतलाई लेखेका हुन् प्रशान्त पौडेलले ।
उनकै संगीत, एचबीएन किस्मतको एरेन्ज रहेको गीतमा प्रविन भट्ट र बालगायिका पूजा देवकोटाले स्वर दिएका छन् । सागरबाबु भट्टको कथा तथा निर्देशनमा बनेको गीतको भिडियोमा हरिश निरौला र पेरिसा कँडेलले अभिनय गरेका छन् । लोक फ्युजनको गीतको भिडियो पोखरा आसपासमा खिचिएको हो । पोखराको एउटा गाउँ, फेवाताल, सराङ्कोट लगायतका स्थानका दृश्यहरु भिडियोमा देख्न सकिन्छ ।
गीतलाई श्रोता–दर्शकले रुचाएसँगै गीतकार तथा संगीतकार प्रशान्त पौडेलले खुसी व्यक्त गरेका छन् । उनी आफूले अपेक्षा गरेकोभन्दा धेरै गीतलाई श्रोता–दर्शकले रुचाएको बताउँछन् ।
गीत बनाउँदै गर्दा चलोस् भन्ने त हुन्छ । तर यति छिट्टै यति धेरै रुचाउनुहोला भन्ने आशा चाहिं थिएन,’ गीतकार पौडेलले भने । उनी गीत युट्युबमा सार्वजनिक भएसँगै भ्युजमा टिकटकले पनि ‘प्लस’ गरेको बताउँछन् । गीत दर्शकलाई मन पर्यो भने चल्नका लागि टिकटक पब्लिसिटीको राम्रो प्लेटफर्म रहेको बताए । बालगायिका पूजा देवकोटाको आवाजले पनि ‘प्लस’ गरेको उनको बुझाइ छ । यद्यपि गीत रुचाउनुमा सबै टिमको मेहनत रहेको पौडेलले बताए ।
यसअघि पौडेलको शब्द, संगीत रहेका ‘लाहुर जाने रेल’, ‘दैवको नजर लाए नि हुन्थ्यो’, ‘माया बस्ला बेसरी’जस्ता गीत पनि रुचाइएका छन् । ‘भिडियो भकारी’ नामक युट्युब च्यानलमा सार्वजनिक ‘मनैमा शीतलो’लाई अजय रेग्मीले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।